नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा दर्जनबढी, घोषणा थुप्रै
काठमाडौँ । नेपाली चलचित्र क्षेत्र यतिबेला निकै चलायमान देखिएको छ । एकातर्फ हलमा ‘गौथली’, ‘लज्जावती’लगायत फिल्महरूले दर्शक मनोरन्जन गराइरहेका छन् भने अर्कोतर्फ आधा दर्जन भन्दा बढी फिल्महरू ‘एक्सन कट्’मा छन् ।
फिल्म घोषणा पनि धमाधम भैरहेको छ । फ्लोरमा रहेका केही फिल्म भर्खर छायांकनमा निश्किएका पनि छन् भने केही अन्तिम चरणमा पुगेका छन् । केही त शुभ–मुहूर्त सहित फ्लोरमा निस्कने तयारी गर्दैछन् । अहिले फ्लोरमा रहेका फिल्महरूमा ‘यानीमाया’, ‘ए मेरो हजुर ५’, ‘तीन तिघ्रे क्या बिग्रे’, ‘रातो घेर’, ‘महाराजाधिराज’, ‘आशा’, ‘तिरिमिरि झ्याई’, ‘जुबा’ र ‘टिका’ हुन् ।
‘यानीमाया’ अभिनेता पल शाहको निर्माण तथा अभिनय रहेको फिल्म हो । गत साउन २९ गते शुक्रबारदेखि काठमाडौँको गागलफेदीबाट फिल्मको छायांकन सुरु भएको हो । सामाजिक प्रेमकथामा आधारित यो फिल्मलाई ओम प्रतीकले निर्देशन गरिरहेका छन् । फिल्ममा पल शाहसँगै अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट र अङ्कित खड्का लगायतको ठुलो टिम छ । ३५ दिनको छायांकन तालिका रहेको यो फिल्म आगामी फागुन ७ गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।
‘ए मेरो हजुर ५’ नेपालको सफल फिल्म फ्रेन्चाइज ‘ए मेरो हजुर’ को पाँचौ सिक्वेल हो । झरना थापाको निर्देशन र सुनिलकुमार थापाको निर्माणमा बनिरहेको यो फिल्मको छायांकन सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र खप्तडबाट केही दिन पहिले मात्र सुरु गरिएको हो ।
अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको यो फिल्मले पर्यटन प्रवद्र्धनमा पनि सघाउने निर्देशक थापाको विश्वास छ । यो फिल्ममा दिलीप रायमाझी र सलोन बस्नेतको पनि अभिनय रहनेछ ।
त्यस्तै रघुजी फिल्म्सको ब्यानरमा बनिरहेको ‘तीन तिघ्रे क्या बिग्रे’ बिगत तीन सातादेखि फ्लोरमा छ । काठमाडौँका विभिन्न स्थानमा छायांकनरत फिल्मका निर्माता रघुनाथ सापकोटा हुन् । ३०–४० दिनसम्म निरन्तर छायाङ्कन तालिक रहेको फिल्म अमरदीप सापकोटाले निर्देशन गरिरहेका छन् ।
फिल्ममा गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, नीरज नेपाल, लेखान्त भुसाल, वीरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन विमली, नारायण बिक, रेणु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना तथा राजु तिमल्सिनालगायत कलाकारको अभिनय छ ।
उडान स्टुडियोको प्रस्तुति रहेको फिल्म ‘आशा’ले भने बुधबारबाट सुटिङ सकाएको छ । गत आसर ३२ बाट छायाँकन सुरु भएको फिल्म काभ्रेको नमोबुद्ध र धुलिखेल आसपासमा छायाँकन गरिएको छ । फिल्मको निर्माता शर्मिला थापा हुन् । महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीको मुख्य भूमिका रहेको फिल्मका निर्देशक राजीव गुरुङ हुन् ।

फ्लोरमा रहेको अर्काे फिल्म ‘जुबा’ पनि हो । केही महिना अगाडि सर्लाही बाट छायांकन सुरु गरेको फिल्म भारतको राजस्थानमा पनि खिचिएको छ । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्ण हुन् । फिल्म मार्फत सोफी धरेले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् ।
फिल्म ‘तिरिमिरी झ्याइँ’ पनि फ्लोरमै छ । गत असार अन्तिममा कमलादी गणेश मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाङ्कन थलेको फिल्ममा कमेडियन सुमन कोइराला, धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायत कलाकार अभिनयरत छन् । फिल्म समीरले निर्देशन गरिरहेका छन् ।
यस्तै अनिल बुढा मगरको निर्देशन रहने चलचित्र ‘रातो घेरा – द रेड सर्कल’, परिच्छेद सेनले निर्देशन रहेको ‘महाराजाधिराज’ र शंकर कार्की निर्देशक रहेको ‘टिकाः स्टेटलेस सोल’ पनि फ्लोरमा छ । यी तीन फिल्ममध्ये दुई ‘रातो घेरा – द रेड सर्कल’ र ‘महाराजाधिराज’ छायांकनको अन्तिम चरणमा पुगेको छ, भने ‘टिकाः स्टेटलेस सोल’ फ्लोरमा निस्किएपछि टिमबिच विवाद उत्पन्न हुँदा बन्ने नबन्ने अन्योल छ ।
‘रातो घेरा – द रेड सर्कल’मा हिट जोडी दयाहाङ राई र मिरुना मगरको केमेस्ट्री देख्न सकिन्छ । ‘महाराजाधिराज’मा भने आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्टलगायतको अभिनय छ । फिल्म ‘टिकाः स्टेटलेस सोल’मा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरेलगायत कलाकारका रूपमा रहेका थिए ।

छायांकनमा जाँदै ठुला प्रोजेट
फिल्म प्रदर्शन र फ्लोरमा मात्र होइन, २ ठुला फिल्म शुभ–मुर्हूतसहित छायांकनमा निस्किने तयारीमा पनि छन् । फिल्म हुन् ‘शुभ विवाह’ र ‘भिडियोटेप’ हुन् । सफल निर्देशक सुदर्शन थापा र चकलेटी अभिनेता प्रदीप खड्काले पुनः एकपटक सहकार्य गर्न लागेको फिल्म हो ‘शुभविवाह’ । केही दिनअघि राजधानीमा एक भव्य कार्यक्रमसहित शुभमुर्हूत भएको फिल्ममा प्रदीपको जोडीका रूपमा अभिनेत्री सनिशा भट्टराई देखिनेछिन् । फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसालजस्ता दिग्गज कलाकारहरूको पनि अभिनय रहनेछ ।
रोमान्टिक कथामा आधारित फिल्म फागुन २१ गते रिलिज गर्ने लक्ष्यका राखिएको छ ।
त्यस्तै, एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको ‘भिडियोटेप’ले नेपाली फिल्ममा हरर जनरालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । ४ करोडको लगानीमा निर्माण हुन लागेको यो फिल्मलाई ओविद उद्दिनले निर्देशन गर्दैछन् ।
फिल्मको छायांकन शुक्रबार(भदौ ५ गते)बाट उपल्लो मुस्ताङमा सुरु हुँदै छ । ३० दिनसम्म खिचिने फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्यको मुख्य भूमिका रहनेछ । वास्तविक घटनाभन्दा पनि काल्पनिक र डरलाग्दो विषयवस्तुमा फिल्म हुने निर्देशक उद्दिनले बताए ।

घोषणा थुप्रै
फिल्म प्रदर्शन र छायांकनमा मात्र होइन, निर्माण घोषणा पनि थुप्रै भएका छन् । पछिल्लो समय दैनिक एउटा जस्तो फिल्म निर्माण घोषणा हुन थालेका छन् । केही समय यता घोषणा भएका फिल्ममा ‘हाम्रो सानो घर’, ‘मन बिनाको धन–२’, ‘पच्चीस पच्चीस’, ‘पञ्चमी’ ‘फलानो ढिस्कानो’, ‘एक्का तीन’ लगायत ३ दर्जन बढी छन् ।
घोषणा भएका कतिपय फिल्म कलाकार छनोटदेखि वर्कसपमा समेत जुटेका छन् भने कतिपय घोषणापछि चुपचाप छन् । फिल्म बन्छ बन्दैन अहिले भन्न सकिने अवस्था छैन । कतिपय फिल्मले भने कलाकार अनुबन्धित गरेको समेत प्रचार गरिरहेका छन् ।
वि.सं.२०८३ भदौ ४ बिहीवार १९:००


















