धेरै नुन खानाले निम्त्याउँछ स्वास्थ्य गम्भीर समस्या
एजेन्सी । विश्वका धेरै मानिसहरुले आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन्। यसको असर उनीहरुको स्वास्थ्यमा पनि परिरहेको छ।
धेरै नुन खानु प्राणघातक हुन सक्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अधिकांश मानिसहरु दैनिक रुपमा खानु पर्नेभन्दा दोब्बर धेरै नुन खाइरहेका छन्। यो निकै खतरनाक साबित हुन सक्ने डब्ल्यूएचओको भनाई छ। तर धेरैजसो मानिसहरुलाई आफूले खानु पर्नेभन्दा धेरै नुन खाइरहेको छु भन्ने नै थाहा छैन। तपाईँले पनि खानामा धेरै नुन त खाइरहनु भएको छैन ? छ भने यो बानीलाई तत्कालै परिर्वतन गर्नुहोस्।
डब्ल्यूएचओको रिपोर्टका अनुसार वयस्कहरुले दिनमा १०.७८ ग्राम नुन खाइरहेका छन्। यो भनेको दुई चम्चा बराबर हो। यसमा ४ हजार ३१० मिलिग्राम सोडियम हुन्छ। यो चाँहि दैनिक आवश्यकताको करिब दुई गुणा धेरै हो। यो मात्रामा नुन खानु स्वास्थ्यको लागि निकै खतरनाक हुन्छ। धेरै मात्रामा नुन खाँदा मानिसहरुमा प्राणघातक रोगको खतरा बढ्छ। डब्ल्यूएचओका अनुसार सबै वयस्कले दिनभरमा २ हजार मिलिग्राम सोडियम सेवन गर्नु पर्छ। एक चम्चा ९५ ग्राम नुनमा यति सोडियम पाइन्छ। अर्थात् तपाई वयस्क हुनुहुन्छ भने दिनभरमा तपाईँले एक चम्चाभन्दा धेरै नुन खानु हुन्न।
धेरै नुन खाँदा वर्षेनी १९ लाख मान्छेको मृत्यु
विश्वभर वर्षभरिमा १८ लाख ९० हजार मान्छेको मृत्युको कारण धेरै नुन सेवन हो। चाहिनेभन्दा बढी सोडियमका कारण करोडौं मान्छेहरु गम्भीर रोगको सिकार भइरहेका छन्। नुन खाएर के हुन्छ र भन्ने धेरैलाई लागिरहेको हुन सक्छ। तर यो उनीहरुको सबैभन्दा ठूलो भ्रम हो। शरीरमा आवश्यकताभन्दा धेरै सोडियम हानिकारक हुन्छ। धेरै नुन खानु कसैको लागि पनि फाइदाजनक छैन। नुन धेरै खाँदा तपाईँलाई मुटुसम्बन्धी रोग, उच्च रक्तचाप, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, किड्नीसम्बन्धी रोग,अस्टियोपोरोसिस जस्ता कयौँ गम्भीर रोग लाग्न सक्छ ।
वि.सं.२०८० माघ ७ आइतवार २१:३३
















